अफिस जान लागेका सुडानी प्रधानमन्त्रीलाई लक्षित गरी बिस्फोट
सुडानका प्रधानमन्त्री अब्दल्ला हामडोक हत्या प्रयासबाट जोगिएका छन्।
सोमबार बिहान निवासबाट कार्यालय जान लागेको हामडोकको कार्गेडलाई लक्षित गरी राजधानी खार्तुममा बिस्फोट भएको थियो। बिस्फोटमा हामडोकलाई केही नभएको तर उनको सवारीमा रहेका दुइटा एसयुभी गाडीमा भने क्षति भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
उक्त बिस्फोटको जिम्मा कुनै पनि समूहले लिएको छैन।
हामडोक गत अगस्टदेखि सुडानका अन्तरिम प्रधानमन्त्री बनेका छन्। प्रजातन्त्र पक्षधर आन्दोलनकारीले सैनिक तानाशाह ओमर अल बसिरलाई हटाएका थिए।
लामो वार्तापछि सेना र प्रजातन्त्र पक्षधर सत्ता साझेदारी गर्न सहमत भएका थिए। त्यसपछि बनेको सरकारको नेतृत्व हामडोकले गरेका थिए।