भारत महाकाली सन्धिको २५ वर्षपछि टनकपुर बाँधबाट नेपाललाई पानी दिन सहमत
(काठमाडाैँ) महाकाली सन्धिको २५ वर्षपछि भारतले टनकपुर बाँधबाट नेपालीलाई पानी उपलब्ध गराउने भएको छ ।
टनकपुर बाँधदेखि नेपालको सिमानासम्म एक हजार २ सय मिटर मूल नहर र महाकाली नदीमा हेड रेगुलेटर बनाउन भारत तयार भएको हो । सन्धिको धारा २ को उपधारा (२) अन्तर्गत नेपाललाई टनकपुर बाँधबाट सुक्खायाममा तीन सय क्युसेक र वर्षातमा एक हजार क्युसेक पानी उपलब्ध गराउनुपर्ने सम्झौता भएको थियो ।
२५ वर्षपछि भारतले मूल नहर निर्माणका लागि ठेक्का सम्झौता गरेर काम सुरु गरेको छ । डेढ वर्षमा काम सम्पन्न गर्ने गरी भारतले नेसनल हाइड्रोपावर कर्पोरेसन लिमिटेडसँग ७५ करोडमा नहर निर्माणको ठेक्का सम्झौता गरी काम सुरु गरेको महाकाली सिँचाइ आयोजना (तेस्रो चरण) कार्यालयले जनाएको छ ।
कञ्चनपुर र कैलालीको ३३ हजार ५ सय २० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिए पनि पर्याप्त बजेट नहुँदा नहर निर्माणको कार्यले भने गति लिन सकेको छैन ।