सरकारले अराजकता राेक्न खाेजेकाे हाे, दम्भ देखाएकाे हाेइन : सञ्चारमन्त्री
काठमान्डौ २० असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रेसलाई रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने बताएका छन् । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिने सोच र तयारी सरकारको नभएको स्पष्ट पारेका छन् । तर, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउने कामलाई भने सरकारले नियन्त्रण गर्ने बताए ।
उनले सरकारले अराजकता रोक्न खोज्नुलाई दम्भ भन्न नमिल्ने तर्क गरे । उनले अपुष्ट समाचारलाई पनि प्रेस स्वतन्त्रताको नाममा सञ्चार जगतले सम्प्रेषण गरिनै रहेको भन्दै व्यंग्य गरे ।
उनले भने, 'प्रेस चलेकै छन् एकदम राम्ररी । एकदम राम्रोसँग चलिरहेका छन् । र, सबैले आफूलाई लागेको कुरा भए पनि नभए पनि पुष्टि भए पनि नभए पनि गजबले गरिराख्न पाएका छन् । त्यसैले यो कुरै छैन जस्तो लाग्छ मलाई । एकदम स्वतन्त्र छ ।'
सरकारले समानुपातिक विज्ञापन प्रणाली लागू गरेपछि अहिले दिँदै आएको लोक कल्याणकारी विज्ञापन रोकिने बताए।
संसद् सार्वभौम भएकाले विधि निर्माणको थलो संसद्लाई नै बनाउनुपर्ने भन्दै उनले छलफल गरेर मिडिया काउन्सिल विधेयकलाई राम्रो बनाउन सकिने बताए । उनले संसदभित्र छलफल नै नगरी संसद्बाहिर विधेयकबारे नकारात्मक प्रचारबाजी गर्नुको अर्थ नरहेको बताए ।
रारास बाट