प्रधानमन्त्री बालेन्द्र शाहले इयू सदस्य राष्ट्रका राजदूतहरूसँग संयुक्त भेटवार्ता गर्ने
काठमाडौं, जेठ २५ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि नियुक्त युरोपेली सङ्घ (इयू) आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भोलि बिहान ११:३० बजे हुने उक्त भेटमा प्रधानमन्त्री शाहले नेपालका वर्तमान प्राथमिकता, विकास साझेदारी तथा द्विपक्षीय सम्बन्धका विविध पक्षबारे धारणा राख्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटवार्तामा नेपाल–इयू सम्बन्धलाई थप सुदृढ बनाउने, सहकार्यका क्षेत्र विस्तार गर्ने तथा आपसी हितका विषयमा छलफल केन्द्रित हुनेछ।
यसअघि प्रधानमन्त्री शाहले गत चैत २५ गते नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग सामूहिक संवाद गरेका थिए।