भूमिहीन–सुकुम्बासी संरक्षण समितिद्वारा देशव्यापी संघर्ष घोषणा
काठमाडौं, जेठ २५ — ‘नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समिति’ले देशभर संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार काठमाडौंको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत समितिले १५ बुँदे माग अघि सार्दै ती माग पूरा नभए सिंहदरबार घेराउसम्मका आन्दोलन गर्ने चेतावनी दिएको हो।
समितिका संयोजक खगेन्द्र पौडेलले लाखौं भूमिहीन–सुकुम्बासी समुदायलाई वैकल्पिक पुनःस्थापना र उचित व्यवस्थापन बिना नै डोजर लगाएर उठिबास गराइएको भन्दै त्यसको विरोधमा आन्दोलनमा उत्रिन बाध्य भएको बताए। उनले बुटवलमा जेठ ३ र ४ गते भएको जनप्रदर्शन तथा राष्ट्रिय भेलाबाट संघर्षका कार्यक्रम तय गरिएको जानकारी दिए।
समितिका सदस्य विरमान लामाले सुकुम्बासी तथा भूमिहीनहरूलाई लालपूर्जा उपलब्ध गराउने, उचित क्षतिपूर्तिसहित व्यवस्थापन गर्ने र कथित अवैध डोजर अभियान रोक्नुपर्ने माग राखे। माग पूरा नभए आन्दोलन थप चर्काउने चेतावनी पनि उनले दिए।
त्यसैगरी समितिका हरिश गिरीले सरकारी डोजर अभियानका कारण केही नागरिक आत्महत्या गर्न बाध्य भएको दाबी गर्दै मृतकलाई सहिद घोषणा गर्न, परिवारलाई क्षतिपूर्ति दिन र दोषीमाथि कारबाही गर्न माग गरे।
राष्ट्रिय जेनजी–नागरिक अभियानका प्रवक्ता विर्जन विश्वकर्माले भने भूमिहीन–सुकुम्बासीहरूलाई अवैध रूपमा उठिबास लगाइएको आरोप लगाएका छन्।
समितिले मागहरू सम्बोधन नभए देशव्यापी आन्दोलन सशक्त बनाउने र सिंहदरबार घेराउसहितका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ।