नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी शिक्षक बनेको आरोपमा मुद्दा दायर
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का एक शिक्षकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षण पेशामा संलग्न भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।
विनयी त्रिवेणी गाउँपालिका–२ निवासी कृष्णबहादुर खन्नाहाले झुट्टा प्रमाणपत्रका आधारमा शिक्षकको ओहोदा र सुविधा लिएको आरोपमा सोमबार आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
अनुसन्धानअनुसार उनले भारतको ‘नागाल्याण्ड बोर्ड अफ स्कूल एजुकेशन, कोहिमा’ बाट जारी भएको भनिएको नक्कली प्रमाणपत्र पेस गरी नियुक्ति लिएको देखिएको छ। उनी हाल मणिसंगम माध्यमिक विद्यालयमा प्राथमिक तह तृतीय श्रेणी शिक्षकका रूपमा कार्यरत थिए।
अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवानाको मागदाबी गर्दै मुद्दा अघि बढाएको जनाएको छ।