दुर्गा प्रसाईंविरुद्ध अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा
काठमाडौं, — ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंविरुद्धको अनुसन्धान पूरा गरी प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गर्दै प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर तथा राज्यविरुद्धको कसुर (क्राइम एगेन्स्ट द स्टेट) मा मुद्दा चलाउन राय दिएको जनाएको छ।
पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बस्नेतका अनुसार अनुसन्धानका क्रममा प्रसाईंले विभिन्न युट्युब अन्तर्वार्ता तथा सार्वजनिक कार्यक्रमहरूमा दिएका अभिव्यक्तिलाई मुख्य प्रमाणका रूपमा लिइएको छ।
प्रहरीका अनुसार गत जेठ ४ गते वीरगन्जस्थित दियालो होटलबाट पक्राउ परेका प्रसाईं वीरगन्जमा धार्मिक कार्यक्रमका लागि पुगेका बेला नियन्त्रणमा लिइएका थिए।
यसबीच, प्रसाईंको हिरासतबारे परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सोमबारसम्म उनलाई हिरासत मुक्त गर्न आदेश दिएको थियो।
प्रहरीले प्रतिवेदन बुझाएसँगै अब सरकारी वकिल कार्यालयले कागजात अध्ययन गरी मुद्दा दायर गर्ने वा नगर्ने विषयमा अन्तिम निर्णय गर्नेछ।