राष्ट्रपति पौडेलद्वारा भाइटीका ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट आज बिहान ११ बजेर ७ मिनेटको उत्तम साइतमा विधिपूर्वक भाइटीका लगाएका हुन् ।
सो अवसरमा बहिनी शारदाले राष्ट्रपति पौडेललाई ओखर, बदामलगायत फलफूल तथा सौगात प्रदान गरेकी थिइन् । राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार तथा दक्षिणा प्रदान गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा निर्धारण गरेको थियो ।
यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाई सुख, शान्ति, दीर्घायु र समृद्धिको कामना गर्ने परम्परा छ ।