जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेकालाई छोड्न माग गर्दै जनकपुरमा प्रदर्शन
धनुषाको जनकपुरधाममा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेकालाई रिहा गर्न माग गर्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।
कात्तिक २३ गते बिहान जनकपुरधाम–१४ रजौलस्थित साजन टेन्ट हाउसमा तास खेलिरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई छोड्नुपर्ने माग गर्दै स्थानीयवासी तथा आफन्तले प्रदर्शन गरेका हुन् ।
उनीहरूले मंगलबार साँझ जनकपुरधाम–९ स्थित थापाचोकमा सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा केही बेर सडक आवागमनसमेत अवरुद्ध भएको थियो ।
प्रहरी प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालले पक्राउ परेकाहरूलाई रिहा गर्न दबाब दिने उद्देश्यले स्थानीयवासी तथा परिवारजन आन्दोलनमा उत्रिएको बताए ।
प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।