पौवादुङमाको तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र
भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना पञ्चकन्या कृषि सडकअन्तर्गत तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र गरिएको छ । सडक कालोपत्र भएसँगै वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकका कारण समस्या भोग्दै आएका स्थानीयलाई राहत मिलेको छ ।
मध्यपहाडी लोकमार्गको भोजपुर–लेगुवा सडकसँग जोडिएको तिवारीभञ्याङदेखि गाउँपालिका केन्द्र च्याङ्गेसम्मको सडक कालोपत्र गरिएको हो । तिवारीभञ्याङदेखि अँधेरीघाटसम्मको ३१ किलोमिटर सडकमध्ये हाल च्याङ्गेसम्मको करिब दुई किलोमिटर सडक कालोपत्र सम्पन्न भएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिइन् ।
गाउँपालिका अध्यक्ष किरण राईका अनुसार आगामी दिनमा अँधेरीघाटसम्मै सडक कालोपत्र गर्ने लक्ष्य राखिएको छ । सडक निर्माणले कृषि उत्पादनको बजारीकरण, स्थानीयको आवतजावत तथा आर्थिक गतिविधिमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।