दाङमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु
दाङमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ७० वर्षीय सोर बुढा मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गएराति ११ः४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु.प्र.०२–००२ प ४५४२ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा उनलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका बुढा मगरको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक लमही नगरपालिका–५ रातोडाँडा निवासी सागर बुढा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले सवारी चालक तथा पैदलयात्रीलाई सडकमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । तीव्र गतिमा सवारी नचलाउन, ट्राफिक नियम पालना गर्न तथा सडक पार गर्दा दायाँबायाँ हेरेर सुरक्षित स्थानबाट मात्र बाटो काट्न प्रहरीले अनुरोध गरेको छ ।