मधेसका मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री यादवका अनुसार कात्तिक २८ गते दिउँसो १ बजे विश्वासको मत लिने तयारी गरिएको छ। यसका लागि प्रदेशसभा बैठक बोलाउन सचिवालयलाई पत्राचार गरिनेछ।
विश्वासको मत प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग छलफल भइरहेको र मतदान हुनुअघिसम्म संवाद जारी रहने उनले बताएका छन्।
नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमालेका चार मन्त्रीले असोज २५ गते सामूहिक राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।
१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ।