असिना र हावाहुरीले त्रिभुवन विमानस्थलको उडान प्रभावित
काठमाडौँमा बुधबार दिउँसो एक्कासि मौसम परिवर्तन भई बाक्लो असिनासहित वर्षा र हावाहुरी चलेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको छ।
दिउँसो करिब १:४५ बजेदेखि विमानस्थलको धावनमार्ग र ट्याक्सी–वेमा बाक्लो असिना जम्दा विमानस्थल बन्द गरिएको हो। मौसममा अचानक आएको परिवर्तनका कारण अवतरणका लागि आएका अन्तर्राष्ट्रिय तथा आन्तरिकतर्फका आठवटा जहाज आकाशमै होल्ड भएका छन्।
विमानस्थलका प्रवक्ता सञ्जयकुमारका अनुसार असिना जमेर धावनमार्ग सञ्चालन गर्न नसकिने अवस्था भएपछि उडान तथा अवतरण रोकिएको हो।
विमानस्थलमा असिना हटाउने छुट्टै उपकरण नभएकाले उद्धार तथा अग्निनियन्त्रण सेवा (आरएफएफ) को दमकल प्रयोग गरी धावनमार्ग सफा गर्ने काम भइरहेको छ।
मौसम प्रतिकूल भएपछि राजविराजका लागि उड्न तयार रहेको बुद्ध एयर र बैंकक जान लागेको थाई एयरवेजको जहाज पार्किङ–वेमै फर्किएका छन्।
यसैबीच, वर्षा र असिनाका कारण विमानस्थलको आन्तरिक प्रस्थान कक्षमा समेत पानी चुहिने समस्या देखिएको छ। सुरक्षा जाँच हुने क्षेत्रको छतमा जडान गरिएका प्यानल लाइटबाट पानी चुहिएको हो।
विमानस्थल अधिकारीका अनुसार मौसममा सुधार आई धावनमार्ग सञ्चालनयोग्य भएपछि मात्र नियमित उडान तथा अवतरण पुनः सुरु गरिनेछ।