मेस्सी चोटको आशंकाबीच मैदान बाहिरिए, इन्टर मियामीको ६–४ को रोमाञ्चक जित
आइतबार राति न्यू स्टेडियममा भएको खेलमा इन्टर मियामीले फिलाडेल्फिया युनियनलाई ६–४ ले पराजित गरेको छ। तर खेलको ७३औँ मिनेटमा कप्तान लियोनेल मेस्सी मैदान छोडेपछि उनीबारे चोटको आशंका गरिएको छ।
मेस्सीले ७०औँ मिनेटमा फ्री किक प्रहार गरेपछि बायाँ तिघ्रा समातेको देखिएका थिए। त्यसपछि उनले प्रतिस्थापनको आग्रह गर्दै मैदान छाडे र उनी सिधै लकर रुमतर्फ गएका थिए। प्रशिक्षकका अनुसार उनी अत्यधिक थकित देखिएकाले जोखिम नलिन उनलाई परिवर्तन गरिएको हो।
खेलमा भने गोलको वर्षा भएको थियो। फिलाडेल्फियाले सुरुमै २–० को अग्रता लिए पनि इन्टर मियामीले उत्कृष्ट कमब्याक गर्दै ६–४ को जित निकाल्यो। लुइस सुवारेजले ह्याट्रिक पूरा गरे भने रोड्रिगो डे पउलले एक गोल थपे।
पहिलो हाफमै ८ गोल भएको यो खेल एमएलएस इतिहासकै सबैभन्दा उच्च स्कोरिङ पहिलो हाफमध्ये एक बनेको छ। मेस्सी मैदानबाट बाहिरिएपछि मियामीले अन्तिम समयमा खेल नियन्त्रणमा लिँदै महत्वपूर्ण जित दर्ता गरेको हो।