कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा शुक्रबार दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ।
कुल ७ हजार २५५ महाधिवेशन प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ। बिहान ७ बजे सुरु हुने भनिएको मतदान तयारीका कारण करिब एक घण्टा ढिला गरी सुरु भएको थियो।
मतदानका लागि राष्ट्रिय सभा गृह र खुलामञ्चमा केन्द्र तोकिएको छ। मिडिया सेन्टरका प्रमुख जीवन भण्डारीका अनुसार बागमतीबाट ४८७, मधेशबाट ४२२, कोशीबाट ४१०, लुम्बिनीबाट ३८९ र गण्डकीबाट ३३० मत खसेको छ। कर्णाली र सुदूरपश्चिमबाट संयुक्त रूपमा ६०६ मत खसेको छ।
निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया निर्बाध रूपमा अघि बढिरहेको छ।