लोपोन्मुख आदिवासी र दलित विद्यार्थीलाई इन्डक्सन चुलो वितरण
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा दलित समुदायका विद्यार्थीलाई इन्डक्सन चुलो वितरण सुरु गरेको छ।
ग्यास अभावका बेला उपत्यकाबाहिरबाट अध्ययनका लागि आएका विद्यार्थीलाई राहत दिने उद्देश्यले केन्द्रले चुलो वितरण गर्न लागेको हो। प्राप्त आवेदनमध्ये २४७ विद्यार्थी छनोट भएका छन्। बिहीबार ५१ विद्यार्थीलाई चुलो वितरण गरिएको केन्द्रले जनाएको छ।
केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले ग्यासको तुलनामा इन्डक्सन चुलो प्रयोग गर्दा करिब ३२ देखि ४० प्रतिशतसम्म खर्च कम हुने बताए।
बाँकी विद्यार्थीलाई असोज २३ र २६ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म ताहाचलस्थित केन्द्रको कार्यालयबाट चुलो वितरण गरिने जनाइएको छ। चुलो लिन विद्यार्थीले नागरिकता, सम्बन्धित समुदाय खुलेको सरकारी सिफारिस, शैक्षिक संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्रलगायत कागजात पेस गर्नुपर्नेछ।