उदयपुरमा सिटी सफारी दुर्घटना हुँदा दुई वर्षीया बालिकाको मृत्यु
उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा सिटी सफारी ठोक्किँदा दुई वर्षीया बालिकाको मृत्यु भएको छ भने ७० वर्षीया वृद्धा घाइते भएकी छन्।
शुक्रबार बिहान करिब १०ः२५ बजे आँखा अस्पतालबाट मेनचोकतर्फ जाँदै गरेको पानी बोकेको पिकअपमा पछाडिबाट सिटी सफारी ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी स्थानीय शिवकुमार सदाकी छोरी रागिनी सदाको जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा दिउँसो १२ः५६ बजे मृत्यु भएको हो। घाइते कन्नि सदाको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि दुवै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानमा सिटी सफारी चालकले मादक पदार्थ सेवन गरेको र आवश्यक कागजात साथमा नभएको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।