दुई जलविद्युत् परियोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्डको ६८औँ बैठकले दुई अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।
बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला जलविद्युत् परियोजनाका लागि १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ र ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ परियोजनाका लागि १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लगानी स्वीकृत गरेको हो।
बैठकले अरुण–३ जलविद्युत् परियोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरु गर्ने विषयलाई अघि बढाउने तथा माथिल्लो कर्णाली परियोजनाको निर्माण तत्काल अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै, नवीनतम सूचना प्रविधि र कृत्रिम बुद्धिमत्तामा आधारित पूर्वाधार परियोजनामा लगानी प्रस्ताव आए नवीकरणीय ऊर्जाको उपयोग र रोजगारी सिर्जनामा योगदानका आधारमा प्राथमिकता दिने निर्णय भएको छ।