चाडपर्वमा बजार अनुगमन कडा बनाउने सरकारको निर्णय
सरकारले चाडपर्वका समयमा अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न बजार अनुगमन कडा बनाउने निर्णय गरेको छ। कृत्रिम अभाव, कालोबजारी, जम्माखोरी र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरिने जनाएको छ।
केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको ७५औँ बैठकका निर्णय सार्वजनिक गर्दै सरकारले चाडपर्वमा शान्ति सुरक्षा, सार्वजनिक यातायात व्यवस्थापन तथा स्वास्थ्य, खानेपानी, विद्युत् र सरसफाइ सेवा नियमित राख्न निर्देशन दिएको छ।
यसैबीच, मन्त्रिपरिषद्ले भूमि, विपद् र वनसम्बन्धी कानुन संशोधनका लागि तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
सरकारका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १७ अर्ब ३० करोड ३ लाख रुपैयाँभन्दा बढी जम्मा भएको छ। ‘हेलो सरकार’मा यस साता १ हजार ७६७ गुनासा प्राप्त भएका छन्।