प्रहरी सेवामा नैतिकता, निष्ठा र इमानदारीलाई प्राथमिकता दिन प्रधानमन्त्री शाहको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी सेवासहित कुनै पनि पेसागत सफलताका लागि नैतिकता, निष्ठा र इमानदारी पहिलो सर्त भएको बताएका छन् ।
राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन दिएका हुन् ।
उनले पेसागत आचरण र अनुशासन कायम राख्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि तथा मापदण्डको पालना गर्नुपर्नेमा जोड दिए । जिम्मेवारीप्रति जवाफदेही हुनु पनि पेसागत सफलताको महत्त्वपूर्ण पक्ष भएको उनको भनाइ थियो ।
प्रधानमन्त्री शाहले नेपाल प्रहरीले देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा नागरिकका स्वतन्त्रता र अधिकारको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको बताए । यस्तो जिम्मेवारी पूरा गर्दा कुनै पनि अनुचित प्रभावमा नपरी भेदभावरहित ढङ्गले कर्तव्यमा प्रतिबद्ध रहन उनले आग्रह गरे ।
उनले अपराध अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको उचित प्रयोग आवश्यक रहेको उल्लेख गरे । प्रविधिको सदुपयोगबाट अनुसन्धानलाई छिटो, सहज र पारदर्शी बनाउनुका साथै अपराध नियन्त्रण तथा घटनाको समयमै व्यवस्थापन गर्न सकिने उनले बताए ।
प्रहरी सङ्गठनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । प्रहरी सेवामा आबद्ध रहन प्रेरित गर्ने परिवारजनप्रति पनि उनले आभार व्यक्त गरे ।
समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए ।