चन्द्रागिरिको विष्णुदेवी मन्दिर परिसरमा निःशुल्क आँखा शिविर सम्पन्न
काठमाडौं। लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्ण योगाको आयोजनामा चन्द्रागिरि नगरपालिका १५ तीनथाना, विष्णुदेवी मन्दिर परिसरमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। लायन्स इन्टरनेसनलको अक्टोबर ८ देखि १८ सम्म सञ्चालन हुने भिजन सप्ताहअन्तर्गतको सेवा अभियानका क्रममा उक्त शिविर आयोजना गरिएको हो।
शिविरमा १३५ जना वालबालिका, युवा तथा ज्येष्ठ नागरिकहरूको आँखा परीक्षण (भिजन स्क्रिनिङ) गर्नुका साथै आवश्यक स्वास्थ्य जाँच, स्वास्थ्य परामर्श, औषधि वितरण र आँखा स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो। समुदायका नागरिकलाई सहज रूपमा आँखा परीक्षण सेवा उपलब्ध गराउने र आँखासम्बन्धी समस्याको समयमै पहिचान तथा उपचारका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।
शिविरमा मातृका आँखा अस्पतालकी आँखा रोग विशेषज्ञ डा. काभ्या डंगोलले परीक्षणका क्रममा केही ज्येष्ठ नागरिकमा मोतिबिन्दुको समस्या देखिएको जानकारी दिनुभयो। उहाँले मोतिबिन्दुको समयमै पहिचान र उपचार आवश्यक रहेको उल्लेख गर्दै अस्पतालले तालिका सार्वजनिक गरी निःशुल्क मोतिबिन्दुको शल्यक्रिया सेवा सञ्चालन गर्दै आएको बताउनुभयो। उक्त सेवा लिन इच्छुक बिरामी तथा आयोजकहरूले अस्पतालसँग सम्पर्क गरी आवश्यक जानकारी लिन सक्ने उहाँले जानकारी गराउनुभयो।
उक्त शिविरमा मातृका आँखा अस्पतालले प्राविधिक सहायता तथा योगदान राष्ट्रका लागि चन्द्रागिरि नगर समितिले सहकार्य गरेको थियो। विभिन्न उमेर समूहका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको यस कार्यक्रमले आँखा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थासम्म पुग्न प्रेरित गरेको छ।लायन्स इन्टरनेसनलको भिजन सप्ताहअन्तर्गत आयोजित यस सेवामूलक कार्यक्रमले समुदायमा आँखा स्वास्थ्यसम्बन्धी सचेतना विस्तार गर्नुका साथै सामाजिक सेवामार्फत नागरिकको स्वास्थ्य प्रवर्द्धन गर्ने लायन्स अभियानको उद्देश्यलाई थप प्रभावकारी बनाएको क्लवका सचिव जिनमाया चापागाईज्यूले बताउनु भएको छ ।
