बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । गृहमन्त्री बनेपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।
मङ्गलबार हुने बैठकमा लागुऔषध ओसारपसार, मानव बेचबिखन, आतङ्कवाद, साइबर अपराध तथा सम्पत्ति शुद्धीकरणजस्ता अन्तरदेशीय सुरक्षा चुनौतीबारे छलफल हुनेछ ।
बैठकमा नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा उद्धार र राहतमा क्षेत्रीय सहकार्यको विषयलाई प्राथमिकताका साथ उठाउने जनाइएको छ ।
तीनदिने भारत भ्रमण पूरा गरी गृहमन्त्री गुरुङ असोज २८ गते बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।