शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला
कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दसैँ–तिहारलाई लक्षित गर्दै पर्यटकका लागि जङ्गल सफारी खुला गरिएको छ । वर्षाका कारण सबै रुट सञ्चालनमा आउन नसके पनि मङ्गलबारदेखि मुख्य रुट खुला गरिएको निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार मझगाउँदेखि बाबाताल, रानीताल हुँदै शुक्लाफाँटा घाँसे मैदानसम्म र त्यहाँबाट बर्कौला हुँदै मझगाउँ फर्किने रुट सफारीका लागि खुला गरिएको हो । यस रुटबाट पर्यटकले विशाल घाँसे मैदानमा पुगेर वन्यजन्तुको अवलोकन गर्न सक्नेछन् ।
वर्षा रोकिए एक साताभित्र निकुञ्जका भित्री रुटसमेत सञ्चालनमा ल्याउने तयारी रहेको वाग्लेले बताए ।
निकुञ्जले शुक्लाफाँटाको घाँसे मैदानमा २० हेक्टर क्षेत्रमा घाँस व्यवस्थापनको कामसमेत गरिरहेको छ । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघ र बाह्रसिङ्गाका लागि प्रसिद्ध छ ।
निकुञ्जमा करिब दुई हजार ३०० बाह्रसिङ्गा र ५० पाटेबाघ रहेको जनाइएको छ । यहाँको विशाल घाँसे मैदानमा हजारौँको सङ्ख्यामा बाह्रसिङ्गा एकै ठाउँमा देख्न सकिन्छ । दुर्लभ वन्यजन्तु तथा वनस्पतिका लागि पनि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज परिचित छ ।