बूढीगण्डकीमा बाढीको वितण्डा : ५ जना बेपत्ता, ४८ जनाको सकुशल उद्धार
बूढीगण्डकी नदीमा आएको बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ। बाढीका कारण ५ जना बेपत्ता भएका छन् भने प्रभावित क्षेत्रबाट ४८ जनाको सकुशल उद्धार गरिएको छ।
नेपाल प्रहरीले आइतबार साँझ ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका काम जारी रहेको जनाएको छ।
प्रहरीका अनुसार बाढीले २६ वटा घर र ९ वटा गोठ पूर्ण रूपमा क्षति पुर्याएको छ। यस्तै, तीन वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्।
बाढीले दुई वटा पक्की पुल र दुई वटा झोलुङ्गे पुलसमेत बगाएको छ। पुलहरू बगाउँदा यातायात तथा स्थानीयको आवतजावतमा अवरोध पुगेको छ।
बेपत्ता भएका पाँच जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, राहत वितरण र सुरक्षा व्यवस्थापनका लागि ५३८ जना प्रहरी परिचालन गरिएको छ।