बर्दघाटमा बस पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते
नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ स्थित यस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते भएका छन् ।
सोमबार बिहान करिब ७:३० बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ । बसमा करिब ४० देखि ४५ जना सवार थिए ।
दुर्घटनामा घाइते भएका सातै जनालाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको छ । घाइतेमध्ये अछामको साँफेबगर नगरपालिका–५ की २६ वर्षीया मौसमी ओढको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुष्कर सिंह धामी, मार्मा गाउँपालिका–३ का ३० वर्षीय भगवती अवस्थी र ४८ वर्षीय धनञ्जय जोशी, कैलालीको लम्कीचुहा नगरपालिका–८ की २९ वर्षीया निर्मला खड्का, गौरीगंगा नगरपालिका–१० का ३९ वर्षीय चालक इन्द्र विक र गोदावरी नगरपालिका–१ का ४६ वर्षीय सहचालक मोहन जोशी रहेका छन् ।
बस पल्टिने क्रममा सोही दिशाबाट आउँदै गरेको भारतीय ट्रक नम्बर एचआर ३९ जी २८७६ मा समेत सामान्य ठक्कर लागेको थियो । ठक्करबाट ट्रकको पछाडिको भागमा क्षति पुगेको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षकको कमान्डमा ट्राफिक प्रहरीसहित ११ जनाको टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनापछि पनि पूर्व–पश्चिम राजमार्गमा यातायात सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।