अविरल वर्षाले अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा
रातभरिको अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । सडक विभागका अनुसार राजमार्गको निर्माणाधीन खण्डअन्तर्गत मङ्गलटारबाट करिब तीन किलोमिटर भकुन्डेतर्फ नार्के र पिनथलीको बीचमा लेदो खसेपछि सडक अवरुद्ध भएको थियो ।
वर्षाका कारण सडकमा थुप्रिएको लेदो पन्छाएपछि अवरुद्ध राजमार्ग सञ्चालनमा आएको विभागले जनाएको छ । सडक खुलेसँगै रोकिएका सवारीसाधन तथा यात्रुहरू आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।