पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कमै रोकिए दसैँका यात्रु
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कभित्रै रोकिएका छन् ।
राजमार्ग अवरुद्ध हुनुका साथै वैकल्पिक मार्गमा समेत सवारीसाधनको चाप बढेपछि यातायात सञ्चालनमा समस्या भएको हो । पृथ्वी राजमार्ग बन्द भएपछि काठमाडौंलाई हेटौंडासँग जोड्ने कान्तिलोकपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिए पनि त्यहाँ अत्यधिक सवारी चाप बढेपछि नयाँ बसपार्कबाट छुट्ने सवारीसाधनलाई रोकिएको हो ।
सवारीसाधन रोकिँदा दसैँ मनाउन घर फर्किन लागेका यात्रुहरू समस्यामा परेका छन् । अग्रिम टिकट लिएर बसपार्क पुगेका यात्रुहरू समेत यात्रा कहिले सुरु हुने भन्ने अन्योलमा छन् ।
दसैँ नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढिरहेको समयमा राजमार्ग अवरुद्ध भएपछि यात्रु तथा यातायात व्यवसायी प्रभावित भएका छन् ।
सडक मर्मत गरी यातायात सञ्चालन सहज नबनाएसम्म काठमाडौं बाहिरिने सवारीसाधनको आवागमन प्रभावित हुने देखिएको छ । यात्रुहरूलाई यात्रा सुरु गर्नुअघि सम्बन्धित यातायात व्यवसायी तथा ट्राफिक प्रहरीसँग सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ ।