रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले २३६ रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरातमा जारी खेलमा नेपालले पूरै ५० ओभर खेल्दै १० विकेट गुमाएर २३५ रन बनाएको हो।
टस जितेर क्यानडाले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि चौथो क्रममा आएका कप्तान रोहित पौडेलले शतक बनाए। उनले १२६ बलमा आठ चौका र एक छक्काको मद्दतमा १०१ रन जोडे। रोहित ४८.३ ओभरमा आउट भएका थिए। यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो शतक हो।
अन्तिमतिर आक्रामक ब्याटिङ गरेका गुल्सन झाले अर्धशतक बनाउन दुई रनले चुके। उनले ३४ बलमा चार चौका र तीन छक्कासहित ४८ रन बनाए।
नेपालका लागि बसिर अहमेदले ५७ बलमा ३० रन तथा ओपनर अर्जुन कुमालले ५४ बलमा २३ रन बनाए। आशिफ शेख चार रन, कप्तान सन्दीप लामिछाने दुई रन र इशान पाण्डे शून्य रनमा आउट भए। करण केसीले चार रन तथा नन्दन यादव र ललित राजवंशीले समान दुई रन बनाए।
क्यानडाका अखिल कुमारले चार विकेट लिए भने सुखजिन्दर सिंहले तीन र जाहिद शिरजादले दुई विकेट हात पारे।
एकदिवसीय मान्यता जोगाउने चुनौती
लिग–२ को अन्तिम शृंखलामा खेलिरहेको नेपालका लागि यो खेल एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने दृष्टिले महत्त्वपूर्ण छ। शीर्ष चारमा पर्ने सम्भावना समाप्त भइसकेको नेपालले अब मान्यता सुरक्षित गर्न बाँकी खेलमा राम्रो प्रदर्शन गर्नुपर्नेछ।
नेपालले शृंखलामा क्यानडा र ओमानसँग दुई–दुई खेल खेल्नेछ। चारमध्ये कम्तीमा तीन खेल जित्न सकेमा नेपालले शीर्ष छभित्र रहँदै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना कायम राख्न सक्छ।
नेपालले सन् २०१८ मा जिम्बाब्वेमा भएको विश्वकप छनोट प्रतियोगिताबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। लिग–२ को शीर्ष चार टोलीले सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्।
अंकतालिकामा नेपालको अवस्था
लिग–२ को अन्तिम चार खेल बाँकी रहँदा नेपाल ३२ खेलबाट २४ अंक जोड्दै सातौँ स्थानमा छ। क्यानडाले ३३ खेलबाट २५ र ओमानले २९ खेलबाट ३३ अंक जोडेका छन्।
अमेरिका ३४ खेलबाट ४७ अंकसहित च्याम्पियन बनिसकेको छ। स्कटल्यान्डले ३६ खेलबाट ४५ र नेदरल्यान्ड्सले ३२ खेलबाट ३८ अंक जोडेका छन्। नामिबियाको ३५ खेलबाट ३१ तथा यूएईको ३१ खेलबाट १९ अंक छ।
लिग–२ को पहिलो खेलमा ओमानले शुक्रबार क्यानडालाई पराजित गरेको थियो। त्यससँगै नेपालको शीर्ष चारमा पुग्ने सम्भावना समाप्त भएको थियो।