बेत्रावतीमा एक्रो बेलीब्रिज सञ्चालनमा, बाढी प्रभावित सडक सम्पर्क सहज हुने
रसुवा । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण प्रभावित सडक यातायातलाई सहज बनाउने उद्देश्यले रसुवाको बेत्रावतीमा निर्माण गरिएको एक्रो बेलीब्रिज सञ्चालनमा आएको छ।
भदौ १० गते आएको बाढीको ४५ दिनपछि पुल निर्माण सम्पन्न भएको हो। नेपाली सेनाले आज एक कार्यक्रमबीच नवनिर्मित बेलीब्रिजको उद्घाटन गरेको छ।
बेलीब्रिज सञ्चालनमा आएसँगै बाढीका कारण प्रभावित सडक सम्पर्क पुनः सहज हुने अपेक्षा गरिएको छ। पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दा, यात्रु तथा उक्त सडकखण्ड भएर आवतजावत गर्ने सवारीसाधनलाई राहत पुग्ने विश्वास गरिएको छ।
भोटेकोशी क्षेत्रमा आएको बाढीले सडक तथा पुलका संरचनामा क्षति पुर्याउँदा त्यस क्षेत्रको यातायात सेवा प्रभावित बनेको थियो। बेलीब्रिज निर्माणले आवागमन सहज बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।