कपनस्थित विद्यालयका प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट, दुई जना पक्राउ
काठमाडौं । काठमाडौंको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित विद्यालय परिसरमा असोज २२ गते बिहान १०ः३४ बजे कुटपिट भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–७ घर भई हाल कपन बस्दै आएका ३६ वर्षीय निशाल दाहालले विद्यालयमा कार्यरत महिला शिक्षिकालाई अश्लील शब्द प्रयोग गरी गालीगलौज तथा धम्की दिएका थिए।
त्यस्तै, सिन्धुलीको दुधौली नगरपालिका–१ घर भई कपन बस्दै आएका ४४ वर्षीय ध्रुवप्रसाद घिमिरेको निर्देशनमा प्रधानाध्यापकमाथि मुक्का तथा लात्ती प्रहार भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारसम्बन्धी कसुरमा चार दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।