सहकारीका बचतकर्तालाई कात्तिक मसान्तभित्र मागदाबी विवरण अद्यावधिक गर्न आग्रह
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई आफ्नो मागदाबीको विवरण २०८३ साल कात्तिक मसान्तभित्र अद्यावधिक गर्न आग्रह गरेको छ।
समितिले बचतकर्ताको रकम फिर्ता भुक्तानी प्रक्रियालाई व्यवस्थित बनाउन अनलाइन प्रणालीमार्फत मागदाबीको विवरण संकलन तथा अद्यावधिक गरिरहेको जनाएको छ। समितिका अनुसार अनलाइन प्रणालीमा पेस गरिएको मागदाबीबापतको रकम राष्ट्रिय भुक्तानी गेटवे (नेसनल पेमेन्ट गेटवे) मार्फत सम्बन्धित बचतकर्ताको बैंक खातामा सिधै भुक्तानी गर्ने व्यवस्था गरिएको छ।
बचतकर्ताले आफ्नो मागदाबीमा उल्लेख भएका विवरण परिवर्तन वा अद्यावधिक गर्न सक्नेछन्। त्यसका लागि प्रत्येक मागदाबीमा एउटा मात्र मोबाइल नम्बर प्रयोग गर्नुपर्नेछ। उक्त नम्बरमा प्राप्त हुने एकपटक प्रयोग गर्न मिल्ने पासवर्ड (ओटीपी) का आधारमा विवरण संशोधन गर्न सकिने समितिले जनाएको छ।
मागदाबीमा नाम गलत भएको, मोबाइल नम्बर अपुष्ट रहेको, परिचय तथा बचत पुष्टि गर्ने प्रमाण संकलन नभएको वा एउटै बचतकर्ताका नाममा एकभन्दा बढी मागदाबी पेस भएको अवस्थामा आवश्यक प्रमाणसहित विवरण अद्यावधिक गर्न समितिले अनुरोध गरेको छ।
त्यस्तै, एउटै मोबाइल नम्बर प्रयोग गरेर एकभन्दा बढी मागदाबी पेस गरिएको अवस्थामा प्रत्येक मागदाबीका लागि फरक मोबाइल नम्बर कायम गर्नुपर्ने भए आवश्यक विवरणसहित समितिको इमेलमा निवेदन दिनुपर्नेछ।
समितिले मागदाबीको विवरण अद्यावधिक तथा मोबाइल नम्बर संशोधनसम्बन्धी व्यवस्था पहिलोपटकका लागि कात्तिक मसान्तसम्म लागू हुने जनाएको छ। तोकिएको समयभित्र आवश्यक विवरण अद्यावधिक गर्न सम्बन्धित सबै बचतकर्तालाई समितिले आग्रह गरेको छ।