बुढीगण्डकीको बाढीले चार जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीका कारण चारवटा जलविद्युत् आयोजनामा भौतिक क्षति पुगेको छ। बाढीले आयोजनाका मुख्य क्याम्प क्षेत्र, बेलीब्रिज, पहुँच सडक, निर्माण उपकरण तथा सामग्री बगाउनुका साथै विभिन्न संरचनामा क्षति पुर्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ।
इप्पानका अनुसार टाइम्स इनर्जी प्रालिले प्रवर्द्धन गरेको ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बाढीले बगाएको छ।
त्यस्तै, दोभान खोला हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरेको २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ भने आयोजनाको बेलीब्रिज बाढीले बगाएको छ।
यारु हाइड्रो पावरले प्रवर्द्धन गरेको ३०.५९ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजनाको बेलीब्रिजमा क्षति पुगेको छ। साथै, निर्माण सामग्री तथा उपकरणहरू बाढीले बगाएको इप्पानले जनाएको छ।
यसैगरी, वाटर इनर्जी डेभलपमेन्टले प्रवर्द्धन गरेको १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनाको पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ।
बाढीबाट आयोजनाहरूमा भएको क्षतिको थप विवरण भने प्राप्त हुन बाँकी छ।