अफ्रिकामा रहेका नेपालीका समस्या समाधान गर्न कूटनीतिक पहल गर्न आग्रह
काठमाडौं । केन्यासहित अफ्रिकी मुलुकमा बसोबास गरिरहेका नेपालीहरूले भोग्नुपरेका कानुनी तथा प्रशासनिक समस्या समाधानका लागि नेपाल सरकारसँग कूटनीतिक पहल गर्न आग्रह गरिएको छ।
केन्याको नैरोबीस्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट गर्दै अफ्रिकामा रहेका नेपालीहरूको अवस्था र कन्सुलर सेवासम्बन्धी विषयमा ध्यानाकर्षण गराएका हुन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा अफ्रिकी मुलुकमा बसोबास गरिरहेका नेपालीहरूको वर्तमान अवस्था, कानुनी हैसियत तथा उनीहरूलाई आवश्यक सहजीकरण गर्ने विषयमा छलफल भएको थियो।
भेटका क्रममा वाणिज्यदूत अस्करले नेपालीहरूको बसोबाससम्बन्धी समस्या समाधानका लागि नेपाल सरकारका तर्फबाट आवश्यक कूटनीतिक कदम चाल्न अनुरोध गरेका थिए।
त्यस्तै, दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास बन्द भएपछि त्यहाँ रहेका नेपालीहरूले भोग्नुपरेका समस्या र उनीहरूलाई कूटनीतिक तथा कन्सुलर सेवा सहज रूपमा उपलब्ध गराउने उपायबारे पनि छलफल भएको जनाइएको छ।