जगातीको प्लास्टिक कारखानामा आगलागी, ४० लाखभन्दा बढी क्षति
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा रहेको प्लास्टिक दाना बनाउने कारखानामा सोमबार बिहान आगलागी भएको छ।
नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा लागेको आगो दमकल र स्थानीयवासीको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो। आगलागीबाट कारखानाका मेसिन तथा प्लास्टिकका कच्चा पदार्थ पूर्णरूपमा जलेर नष्ट भएका छन् भने छेउको घरमा समेत क्षति पुगेको छ।
प्रहरीका अनुसार आगलागीबाट ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ। आगलागीको कारण खुलेको छैन। घटनाबारे प्रहरीले मुचुल्का उठाउने काम गरिरहेको छ।