विद्युत् बिल भुक्तानीमा डिजिटल प्रणाली विस्तार गर्न ऊर्जामन्त्रीको निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलको विद्युतीय भुक्तानी प्रणालीलाई प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।
हेटौँडामा विद्युत् डिभिजन कार्यालय प्रमुखसँगको छलफलमा मन्त्री श्रेष्ठले नागरिकले बिल तिर्न घण्टौँ लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्न डिजिटल पेमेन्टलाई अभियानकै रूपमा विस्तार गर्नुपर्ने बताए।
उनले विद्युत् चुहावट नियन्त्रण, संरचना संरक्षण तथा पोलको नियमित मर्मतसम्भार र गस्तीमा समेत ध्यान दिन निर्देशन दिएका छन्। साथै डिभिजन प्रमुखहरूलाई सुशासन र शासकीय सुधारलाई प्राथमिकतामा राखेर जिम्मेवारी पूरा गर्न आग्रह गरे।