कालीगण्डकी बाढीले पुलमा क्षति पुर्याएपछि केलादीघाटमा सवारी आवागमन बन्द
स्याङ्जा । कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको चापाकोट नगरपालिका–६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने केलादीघाटस्थित पक्की पुलमा क्षति पुगेपछि सवारी आवागमन बन्द गरिएको छ ।
सडक डिभिजन कार्यालय पाल्पाका अनुसार प्राविधिक टोलीको अनुगमनपछि तत्काल पुलमा सवारी सञ्चालन गर्न उपयुक्त नदेखिएपछि आवागमन रोकिएको हो । थप विज्ञ टोलीले पुलको निरीक्षण गरेपछि मर्मत आवश्यकताका आधारमा मात्रै सञ्चालन गरिनेछ ।
पुल सञ्चालनमा आउन समय लाग्ने भएपछि चापाकोट–७ र रामपुर–६ जोड्ने गौरीघाटको पुललाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सडक डिभिजन कार्यालयले आग्रह गरेको छ ।
त्यस्तै, चापाकोट–१० किसान र रामपुर–१० होस्दी जोड्ने कालीगण्डकीको नवनिर्मित पुलमा पनि सवारी आवागमन बन्द गरिएको छ । बाढीले पुलमा ठूलो क्षति नगरे पनि पुलसम्म पुग्ने पहुँचमार्ग भासिएपछि आवागमन रोकिएको प्रहरीले जनाएको छ ।