पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोडको बजेट स्वीकृत
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालयको ४३औँ सभाले रजिस्ट्रार प्रा.डा. पन्नाबहादुर थापाले प्रस्तुत गरेको आय–व्यय विवरण तथा नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो ।
विश्वविद्यालयले शैक्षिक रूपान्तरण, प्रविधिमैत्री पूर्वाधार विकास र चिकित्सा शिक्षाको विस्तारलाई प्राथमिकतामा राखेको छ । एआई, डाटा साइन्स र साइबर सुरक्षालगायत क्षेत्रमा नयाँ पाठ्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ ।
गोठगाउँ परिसरमा निर्माणाधीन १०० शय्याको मातृ–शिशु अस्पताल निर्माण सम्पन्न गर्ने तथा कोशी अस्पतालसँगको सहकार्यमा चिकित्सा शिक्षाको गुणस्तर सुधार गर्ने योजना विश्वविद्यालयले जनाएको छ ।
त्यस्तै, प्रशासनिक तथा शैक्षिक सेवाहरूलाई डिजिटल प्रणालीमा लैजाने, जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी अनुसन्धान केन्द्र स्थापना गर्ने र विदेशी विश्वविद्यालयसँग संयुक्त डिग्री तथा विद्यार्थी आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ ।