साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।
मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया १९० रनमा अलआउट भयो। १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
नेपालका लागि इशान पाण्डेले सर्वाधिक ४०, देव खनालले ३९, कप्तान रोहितकुमार पौडेलले अविजित २४ तथा आसिफ शेखले २० रन बनाए। बलिङतर्फ सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन–तीन विकेट लिए।
यो प्रतियोगितामा नेपालको लगातार तेस्रो जित हो। यसअघि नेपालले बहराइन र मलेसियालाई पराजित गरेको थियो। तीन खेलमा तीन जितसँगै नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो।
प्रतियोगिताको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ। नेपाल सन् २०२३ पछि पुनः एसिया कप खेल्ने लक्ष्यमा रहेको छ।