पहिरोले अवरुद्ध बेनी–दरवाङ सडक मर्मतमा तीव्रता
म्याग्दी । लगातारको वर्षापछि पहिरो र बाढीले क्षति पुर्याएर अवरुद्ध बनेको बेनी–दरवाङ–मुना सडक मर्मत थालिएको छ ।
गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले उपकरण परिचालन गरी आइतबारदेखि सडकमा खसेको पहिरो पन्छाउने तथा क्षतिग्रस्त संरचना मर्मत गर्ने काम सुरु गरेको हो । बेनीदेखि तातोपानीसम्मको करिब आठ किलोमिटर सडकमा यातायात सञ्चालनमा आइसकेको जनाइएको छ ।
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका विभिन्न स्थानमा खण्डखण्डमा उपकरण परिचालन गरी सडक खुलाउने काम भइरहेको छ । स्थानीय तह, प्रदेश र सङ्घीय सरकारका निकायसँग समन्वय गरी सडकमा यातायात यथाशीघ्र सञ्चालन गर्ने प्रयास भइरहेको जनाइएको छ ।
यसैबीच, बेनी–जोमसोम–कोरला सडकको विभिन्न स्थानमा कालीगण्डकी नदीले सडक कटान तथा पुलको पहुँचमार्गमा क्षति पुर्याएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङको यातायात सम्पर्क प्रभावित हुनुका साथै कोरला नाकाबाट हुने आयात–निर्यात र मुस्ताङबाट स्याउ तथा च्याङ्ग्रा बजार पठाउने कामसमेत प्रभावित भएको छ ।