कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट आजदेखि विद्युत् उत्पादन सुरु
काठमाडौं । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले चार दिनदेखि बन्द रहेको विद्युत् उत्पादन आजदेखि पुनः सञ्चालन गर्ने भएको छ ।
कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि जोखिमका कारण उत्पादन बन्द गरिएको थियो । अहिले नदीको सतह घट्दै गएपछि सुरुङभित्रको हिलो हटाएर पावर हाउस निरीक्षणपछि उत्पादन सुरु गर्न लागिएको आयोजना प्रमुख आत्मेस पौडेलले जानकारी दिए ।
प्राविधिक टोलीले बाढीपछिको अवस्थाको निरीक्षण गरिसकेको र आज बिहान १० बजेदेखि उत्पादन सुरु गर्न सकिने जनाइएको छ । आयोजनाबाट १४४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।
यसैबीच, बाढीका कारण स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थल सेतीवेणी बजार डुबानमा परेको छ । त्यहाँका २६ घरका बासिन्दालाई नजिकैको विद्यालयमा राखिएको छ भने स्याङ्जा–गुल्मी जोड्ने मोटरेबल पुलसमेत बाढीले बगाएको छ ।