छ वर्षमा दोभान बजारमा दुईपटक ठूलो आगलागी, १० घर र १७ पसल जले
ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा छ वर्षको अवधिमा दुईपटक ठूलो आगलागी भएको छ ।
बिहीबार भएको पछिल्लो आगलागीमा १० घर र १७ पसल जलेका छन् । आगलागीबाट घर तथा व्यवसाय गुमाएका परिवार अहिले आफन्त र छरछिमेकीको आश्रयमा छन् ।
प्रारम्भिक विवरणअनुसार आगलागीबाट करिब १४ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । फुङ्लिङबाट पुगेका दमकल, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
यसअघि २०७७ फागुनमा भएको आगलागीमा ४९ घर जलेका थिए भने करिब ४० करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो । पीडितले तत्कालको राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले विशेष सहयोग गर्नुपर्ने माग गरेका छन् ।