संखुवासभा र धनकुटाबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
संखुवासभा र धनकुटाका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।
आइतबार दिउँसो र राति गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा उनीहरूलाई २ लाख ४ हजार ३ सय ८० रुपैयाँ नगद र पाँच बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
संखुवासभाको खाँदबारी नगरपालिका–८ जिरो पोइन्टस्थित ५९ वर्षीय मानबहादुर तिवारीको घरमा जुवातास खेलिरहेको अवस्थामा मानबहादुरसहित पाँच जनालाई आइतबार दिउँसो पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट ८९ हजार ८ सय ३० रुपैयाँ नगद र एक बुक तास बरामद गरेको जनाएको छ।
यस्तै, धनकुटा नगरपालिका–१ हिलेबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ५२ वर्षीय मोहनबहादुर विकसहित आठ जनालाई आइतबार राति पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १ लाख १४ हजार ५ सय ५० रुपैयाँ नगद र चार बुक तास बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैजनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।