हिमपहिरोमा मृत्यु हुनेको संख्या चार पुग्यो
मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार गएको हिमपहिरोमा परी मृत्यु भएका थप दुई जनाको शव फेला परेको छ।
सोमबार खोज तथा उद्धारका क्रममा वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला परेको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले जनाएको छ।
यसअघि आइतबार घटनास्थलबाटै छेबी भोटे र पासाङ भोटेको शव फेला परेको थियो। थप दुई जनाको शव भेटिएसँगै हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।
हिमपहिरोमा परी १० जना सम्पर्कविहीन भएको बताइए पनि हराइरहेकाहरूको यकिन संख्या भने अझै खुल्न सकेको छैन। जिल्ला प्रशासन कार्यालय मनाङले घटनाको विस्तृत विवरण संकलन गर्दै बेपत्ताको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।