गड्डाचौकी नाकाबाट नेपाल–भारत आवागमन सहज, बनवासा पुलमा यातायात खुल्यो
कञ्चनपुर । कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका हुँदै नेपाल–भारत आवागमन आजदेखि सहज भएको छ।
लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि दुई दिनदेखि शारदा ब्यारेज (बनवासा पुल) मा चारपाङ्ग्रे सवारीसाधनको आवागमन रोकिएको थियो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार महाकाली नदीमा पानीको बहाव घटेसँगै सोमबार बिहानदेखि बनवासा पुल पूर्ण रूपमा सञ्चालनमा आएको हो। अहिले नदीमा पानीको बहाव ९८ हजार क्युसेक मापन गरिएको प्रहरीले जनाएको छ।
भारतीय पक्षले महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुल जीर्ण रहेको कारण देखाउँदै ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको थियो।
महाकाली बहुउद्देश्यीय यातायात कम्पनी प्रालिका अध्यक्ष नवीन भट्टका अनुसार महेन्द्रनगरबाट काठमाडौं, पोखरालगायतका स्थानतर्फ जाने यातायात सेवा पनि आजदेखि सञ्चालनमा आएको छ।
उनका अनुसार लगातारको वर्षाका कारण काठमाडौंका लागि जाने यात्रुवाहक बस चार दिनदेखि तथा सुदूरपश्चिमका पहाडी जिल्लातर्फको यातायात तीन दिनदेखि बन्द थियो। मौसममा सुधार आएपछि यातायात सेवा पुनः सञ्चालन गरिएको हो।