बागलुङका पहिरो प्रभावितलाई हेलिकप्टरमार्फत राहत पठाइँदै
पहिरोका कारण विस्थापित भएका बागलुङका प्रभावित परिवारका लागि हेलिकप्टरमार्फत राहत सामग्री पठाउन थालिएको छ।
पहिलो चरणमा नेपाल रेडक्रस सोसाइटी बागलुङ, उद्योग वाणिज्य संघ र जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाको नम्बर २३ बाहिनी अड्डा, उपल्लाचौरबाट राहत सामग्री पठाइएको हो।
गत शनिबार र आइतबार परेको भारी वर्षापछि बागलुङका विभिन्न स्थानमा पहिरो गएको थियो। पहिरोमा परी निसीखोला गाउँपालिकामा पाँच, तमानखोला गाउँपालिकामा चार र ताराखोला गाउँपालिकामा एक गरी १० जनाको मृत्यु भएको छ।
पहिरोका कारण प्रभावित तथा विस्थापित परिवारलाई तत्काल आवश्यक खाद्यान्न, स्वास्थ्य सामग्रीलगायत राहत सामग्री हेलिकप्टरमार्फत पठाउन थालिएको हो।
स्थानीय तह, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाको समन्वयमा प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी रहेको छ।