चितवन कारागारका ६९ बन्दी दीर्घ तथा जटिल रोगबाट पीडित
चितवन । भरतपुरस्थित जिल्ला कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना विभिन्न दीर्घ तथा जटिल रोगबाट पीडित रहेका छन् ।
कारागार कार्यालयका अनुसार उनीहरू उच्च रक्तचाप, मधुमेह, क्षयरोग, मानसिक रोग, क्यान्सर तथा एचआईभी/एड्सलगायत रोगबाट पीडित छन् । तीमध्ये उच्च रक्तचाप र मधुमेहका बिरामीको संख्या बढी छ । तथ्यांकअनुसार ४२ जनामा उच्च रक्तचाप र २२ जनामा मधुमेह देखिएको छ ।
कारागार कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा क्यान्सरका कारण एक जना बन्दीको मृत्यु भएको छ । यसअघि आर्थिक वर्ष २०८२/८३ र २०८१/८२ मा पनि क्यान्सरका कारण एक–एक जना बन्दीको मृत्यु भएको थियो ।
हाल कारागारमा तीन जना क्यान्सरका बिरामी छन् । तीमध्ये दुई जना कारागारमै रहेका छन् भने एक जना अस्पतालमा उपचाररत छन् । विभिन्न कारागारबाट क्यान्सरपीडित बन्दीलाई उपचारका लागि भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रिफर गर्ने गरिएको कारागार कार्यालयले जनाएको छ ।
ढुङ्गानाका अनुसार हाल क्यान्सरका एक जना र अन्य रोगका एक जना गरी दुई जना बन्दी अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । कारागारभित्र रहेका बिरामी बन्दीको नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक औषधोपचार स्वास्थ्यकर्मीबाट हुँदै आएको उनले बताए ।
कारागारमा रहेका एचआईभी संक्रमित पाँच जना बन्दीले नियमित रूपमा एआरटी औषधि सेवन गरिरहेका छन् ।
हाल जिल्ला कारागार कार्यालय चितवनमा ७१७ पुरुष, ४२ महिला र दुई जना आश्रित नाबालक गरी ७६१ जना रहेका छन् ।