एसएसपी सन्तोष खड्कालाई उपस्थित गराउन मानव अधिकार आयोगको पत्र
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई आयोगमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएको विषयमा बुझ्न अपराध अनुसन्धान कार्यालय पुगेको आयोगको टोलीलाई कार्यालयभित्र प्रवेश गर्न नदिएको घटनाबारे जानकारी लिन खड्कालाई उपस्थित गराउन पत्र पठाइएको आयोगले जनाएको छ।
आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेले खड्कालाई मंगलबार आयोगमा उपस्थित गराइदिन प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र पठाइएको जानकारी दिए।
जबरालाई अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर कार्यालयमा ल्याएको थियो। प्रहरीले उनलाई ‘सुरक्षा थ्रेट’ रहेको भन्दै सुरक्षित स्थानमा राखिएको बताएको छ।
जबरालाई नियन्त्रणमा लिएको जानकारी पाएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली कार्यालय पुगेको थियो। आयोगका अधिकारीले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई समेत फोन तथा सन्देशमार्फत जानकारी गराए पनि टोलीलाई कार्यालयमा प्रवेश गर्न नदिइएको जनाइएको छ।
आयोगको टोली कार्यालयको गेटमा करिब ३५ मिनेट बसेपछि फर्किएको थियो। घटनाबारे थप जानकारी लिन आयोगले एसएसपी खड्कालाई उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो।