रसुवाको टिमुरेमा नेपाल टेलिकमको टावरमा सोलार प्रणाली जडान
रसुवाको टिमुरेमा डिजेल जेनेरेटरको भरमा सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा सोलार प्रणाली जडान गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा लामो समयसम्म अवरुद्ध भएपछि टिमुरे क्षेत्रमा दूरसञ्चार सेवा निरन्तर राख्न नेपाल टेलिकमले १२ किलोवाट क्षमताको सोलार प्रणाली सञ्चालनमा ल्याएको हो।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि विद्युत् आपूर्ति बन्द हुँदा टिमुरेमा रहेको टेलिफोन टावर डिजेल जेनेरेटरमार्फत सञ्चालन गरिएको थियो। टावर सञ्चालनका लागि आवश्यक डिजेलसमेत हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्ने अवस्था आएपछि वैकल्पिक ऊर्जा प्रणाली जडान गरिएको टेलिकमले जनाएको छ।
नेपाल टेलिकमका अनुसार टिमुरे–खैदीमा आवश्यक उपकरण तथा सामग्री हेलिकप्टरमार्फत ढुवानी गरी १२ किलोवाट क्षमताको सोलार सिस्टम जडान गरिएको हो। सोलार प्रणाली सञ्चालनमा आएसँगै विद्युत् सेवा अवरुद्ध भएको अवस्थामा पनि टिमुरे क्षेत्रमा टुजी तथा फोरजी सेवा सञ्चालन गर्न सहज भएको छ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहित विभिन्न जिल्लाका दूरसञ्चार पूर्वाधार तथा सेवा प्रभावित भएका थिए। टिमुरे क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएपछि टेलिफोन सेवा सञ्चालनका लागि नेपाल टेलिकमले जेनेरेटरमा निर्भर हुनुपरेको थियो।
सोलार प्रणाली सञ्चालनमा आएपछि टेलिफोन तथा मोबाइल इन्टरनेट सेवा सञ्चालनका लागि आवश्यक ऊर्जा वैकल्पिक रूपमा उपलब्ध भएको छ। यसबाट टिमुरे क्षेत्रका स्थानीय बासिन्दा, यात्रु तथा सीमावर्ती क्षेत्रमा रहेका सेवाग्राहीलाई दूरसञ्चार सेवा निरन्तर उपलब्ध गराउन सहज हुने नेपाल टेलिकमले जनाएको छ।