हर्क साम्पाङकी जेठी पत्नी दिलमायालाई अंश दिन अदालतको फैसला
काठमाडौं । धरानका तत्कालीन मेयर तथा हालका प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङकी जेठी पत्नी दिलमाया राईले दायर गरेको अंशचलन मुद्दामा अदालतले उनलाई अंश दिनुपर्ने फैसला गरेको छ।
दिलमायाले आफूलाई कुटपिट गरी घरबाट निकालिएको दाबी गर्दै अंश मागसहित मुद्दा दायर गरेकी थिइन्। अदालतले वादी–प्रतिवादीबीच यसअघि कानुनबमोजिम अंशबण्डा भएको प्रमाण नदेखिएको भन्दै पाँच अंशियार कायम गरी सम्पत्ति अंशबण्डा गर्नुपर्ने ठहर गरेको छ।
अदालतको फैसलाअनुसार हर्कराज राई, उनका दाजुहरू आशयकुमार राई र एकराज राई, आमा जसामाया राई तथा मूल पुरुषतर्फकी जेठी पत्नी धनकुमारी राई गरी पाँच अंशियार कायम भएका छन्।
दिलमायाले २०७३ असोज ६ गते दायर गरेको फिरादपत्रमा हर्कराजसँग २०५४ पुस ८ गते प्रेम विवाह भएको र उनीहरूबाट छोरी एलिसा राई रहेको उल्लेख गरेकी थिइन्। आफूहरूबीच कानुनबमोजिम अंशबण्डा नभएको भन्दै उनले अंश माग गरेकी थिइन्।
फिरादमा उनले वैवाहिक जीवनदेखि नै झैझगडा र कुटपिट हुने गरेको तथा हर्कराजले परस्त्रीसँग सम्बन्ध राखेको आरोप लगाएकी थिइन्। आफू विदेशबाट फर्किएपछि पनि त्यस्तो सम्बन्ध कायम रहेको र आफूलाई कुटपिट गरी घरबाट निकालिएको उनको दाबी थियो।
दिलमायाले विपक्षीहरूको सम्पत्ति चार भाग लगाई पतिसहित आफू र छोरीबीच हर्कराजको भाग पुनः तीन भाग लगाएर आफ्नो हिस्सा दिन माग गरेकी थिइन्। तर अदालतले नाता, पुस्तावली तथा पेस भएका प्रमाणका आधारमा पाँच अंशियार कायम गरेको हो।
अदालतले प्रतिवादीहरूले पेस गरेको तायदाती फाँटवारीसमेत अध्ययन गरी प्रतिवादीहरूको नाममा रहेका सम्पत्तिमा अंशियारहरूको हक लाग्ने ठहर गरेको छ। आशयकुमार राईको नाममा रहेका केही सम्पत्ति ब्रिटिश सेनामा काम गरी कमाएको रकमबाट खरिद गरिएको भन्दै निजी आर्जन भएको दाबी गरिए पनि त्यसलाई पुष्टि गर्ने पर्याप्त प्रमाण नदेखिएको अदालतले जनाएको छ।
फैसलाअनुसार समग्र अंश लाग्ने सम्पत्तिलाई पाँच भाग लगाइनेछ। त्यसपछि हर्कराजको भागमा पर्ने एक हिस्सालाई हर्कराज, दिलमाया र छोरी एलिसाबीच तीन भाग लगाउँदा दिलमायाको हिस्सा समग्र सम्पत्तिको १/१५ हुने देखिन्छ।
अदालतले दर्ता स्रेस्तामा कायम सम्पत्तिलाई पाँच भाग लगाई हर्कराजको हिस्साबाट दिलमायाको अंश कायम गर्नुपर्ने ठहर गरेको छ।