हिमलुङ हिमपहिरोमा थप दुई शव फेला
मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई जनाको शव फेला परेको छ। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) को खोज तथा उद्धार टोलीले मंगलबार वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला पारेको हो।
यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव फेला परेको थियो। थप दुई जनाको शव भेटिएसँगै हिमलुङ हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको एनएनएमजीएले जनाएको छ।
हिमपहिरोमा परेकाहरूको खोजी तथा उद्धारका लागि परिचालित टोलीले अभियानलाई निरन्तरता दिने एसोसिएसनले जनाएको छ।
हिमलुङ हिमालमा गएको हिमपहिरोपछि बेपत्ता तथा प्रभावितको खोजीका लागि उद्धार टोली परिचालन गरिएको हो।